News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
बरामद सुन।

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ। एअर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित शुक्रबार पक्राउ परेका हुन्।

रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेका हुन्। भन्सारका कर्मचारीले नियमित जाँचका क्रममा शंका लागेर ‘ह्यान्ड क्यारी’मा भएको सामान राम्रोसँग हेर्न थालेपछी सुवेदी डराएका थिए। सुनजस्तै पहेँलो देखिने छाम्दा गिलोगिलो प्लास्टिकको विशेष भाँडोमा राखेर सुन भित्र्याइएको थियो।

विमानस्थल प्रमुख भन्सार अधिकृत ललिता ज्ञवालीका अनुसार सुनको शङ्का गरेर प्रारम्भिक सोधपुछ गर्ने बित्तिकै सुवेदीले आफूसँग कसैले पठाएको सुन रहेको बताएका थिए। ह्याण्ड क्यारीलाई एक्स–रेमा स्क्यान गर्ने बेला धातुजस्तो बस्तु देखेपछि सुनको शङ्का गरिएको थियो। भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासनमा आफू भरिया मात्र बनेको उनले बताए। सुन उनले गोप्य अङ्गमा लुकाएर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ।

ज्ञवालीले सुनको गुणस्तर र तौल यकिन गर्न बरामद भएको बस्तु आइतबार नेपाल राष्ट्र बैंकमा पठाउने जानकारी दिइन्। भन्सार अधिकारीहरूले सुवेदीको हाउभाउ र अवस्था देख्दा उनलाई कसैले प्रयोग गरेको अनुमान भन्सार अधिकारीहरूको छ। सुन पठाउने व्यक्तिले दिएको सम्पर्क सूत्रले सुवेदीलाई फोन गरेर भेट्ने स्थान दिएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:०९
Weather Update