News Griha :: न्यूजगृह
रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत

काठमाडौं—  रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका-४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्।

पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ। दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ।

घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका-४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन्। उनीहरू सबैको काठमाडौंको ट्रम सेन्टरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:४२
Weather Update