
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो।
उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो। प्रहरीले यसअघि बम राखेको आरोपमा नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर समेत अनुसन्धान गरेको थियो।