काठमाडौं — देशभर दिनप्रतिदिन तापक्रम घट्दो, चिसो बढ्दो छ। यसै क्रममा आज काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –४.४ डिग्री सेल्सियस छ।
आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ तीन स्थानमा भैरहवा, सिमरा र विराटनगरमा बराबर १२.५ डिग्री सेल्सियस रहेको महाशाखाको सूचीमा उल्लेख गरिएको छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका।