नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका अहेबविरुद्ध आरोपपत्र दायर
काठमाडौं — शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइरहेका एक अहेबविरुद्ध आरोपपत्र दायर भएको छ।
डडेल्धुराको, पर्शुराम नगरपालिका जोगबुढा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो।
बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको उजुरीका आधारमा अनुसन्धान गर्दा उनी झुट्टा/नक्कली मार्कसिट र र प्रमाणपत्रहरू पेस गरी अहेबमा २०७७ भदौ ११ गते नियुक्त भई बहाल रहेको पाइएको अख्तियारको दाबी छ।
झुट्टा प्रमाण–पत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १८:१०