काठमाडौं — रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-४ बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
यस्तै दुर्घटनामा सोही गाउँपालिका-५ की ३० वर्षीया कविता कार्की खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, उक्त गाडीका चालक मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना परी मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही गाउँपालिका-४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की, नाम नखुलेका ४ वर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरूको उद्धार गरेर उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ। उक्त जीप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खोँचमा खसेको प्रहरीले जनाएको छ।