News Griha :: न्यूजगृह
स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र
फाइल तस्बिर।

काठमाडौं — पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए।

‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ,’ प्रमुख थपलियाले न्यूजगृहसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने मतदान भएको दुई दिनभित्र नतिजा आइसक्छ।’

कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ। पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षसहित ४१ पदका लागि मङ्सिर १६ गते आइतबार मतदान हुँदैछ।

यसैबीच, स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:१७
Weather Update