काठमाडौं — सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि काठमाडौं ल्याइएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको आजदेखि काठमाडौंमा बयान हुँदैछ।
उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि हुनेछ। कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याइँएको हो। उनलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं अदालतले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो।
कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ। काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ।
गोर्खा मिडियाका पूर्वप्रबन्धक निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका हुन्।