काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो। सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ।
निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन्। प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन्।
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन्। प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनको फलोअप, बीआरआईमा सहकार्य र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुदान सहयोगका लागि प्रस्ताव लगायतका एजेण्डामा छलफलको तयारी छ।
तर द्विपक्षीय छलफलका औपचारिक एजेण्डाहरू भने सार्वजनिक भएका छैनन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली हिमालय एअरलाइन्सबाट जाने छन् ।