काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको हुनाले एकचोटि मन र मत परिवर्तन गर्न आग्रह गरेका छन्।
काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त हुन पनि जनताले विकल्प खोज्ने बेला आएको बताए।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। यहाँ राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ।
‘एकचोटि मन र मत परिवर्तन गरौँ र राप्रपाले नयाँ विकल्पका साथ आफूलाई उभ्याएको छ। त्यो पार्टीलाई मतदान गरेर देश बनाउने अभियानमा सहयोग गर्नुहोस्,’ अध्यक्ष लिङ्देनले भने, ‘कीर्तिपुर जितेर राप्रपाले कस्तो देश बनाउन चाहेको रहेछ भन्ने सन्देश दिन चाहन्छौँ।’
उनले गत स्थानीय तह निर्वाचनमा थोरै ठाउँमा मात्रै राप्रपाले चुनाव जितेको पनि बताए। ‘मेरो गाउँपालिकामा हाम्रो पार्टीको बहुमत छ,’ उनले भने, ‘झापाको हल्दीबारी गाउँपालिका। राप्रपाले भन्दो मात्रै रहेछ कि मौका पाए गर्दो पनि रहेछ भन्ने कुरा मेरो गाउँपालिकामा गएर हेर्नु।’
भ्रष्टाचारलाई ढाकछोप गर्न कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप पनि उनले लगाए।