News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

बुधबार न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेको थियो।

यसअघि आइतबार मंसिर ९ गते सर्वोच्च अदालतले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो। मंगलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो।

सर्वोच्चमा उनका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो। सीआईबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। 

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

उनले प्रधानमन्त्री ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:५९
Weather Update