News Griha :: न्यूजगृह
कस्तो बन्यो 'टिम ट्रम्प' ?

काठमाडौं — आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन्। उनले ह्वाइटहाउसको कमान्ड सम्हाल्न अझै डेढ महिनाभन्दा बढी समय बाँकी छ। दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका ट्रम्पले आफ्नो टिम भने निर्माण गरिसकेका छन्। 

केही समयअघिको एक अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही खराब र विश्वासघाती मानिसलाई स्थान दिएको र त्यो ठूलो गल्ती भएको बताएका थिए। यस अर्थमा ट्रम्पले दोस्रो कार्यकाल पहिलोभन्दा फरक ढंगले चलाउने देखिएको छ।

हालसम्म छनोटमा परेकाहरूको पृष्ठभूमिले पनि त्यो पुष्टि गरेको छ। टिम बनाउने क्रममा पनि उनले आफ्ना समर्थक र निकट सहयोगीलाई स्थान दिएका छन्। यद्यपि यी सबै नियुक्तिको अनुमोदन माथिल्लो सदन सिनेटले गर्नुपर्नेछ।

जेडी भान्स, उपराष्ट्रपति
ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै उनका ‘रनिङ मेट’ जेडी भान्स स्वत: उपराष्ट्रपति बनेका छन्। ४० वर्षीय भान्स अमेरिकाका तेस्रो कम उमेरका उपराष्ट्रपति हुन्। रिपब्लिकन पार्टीका तर्फबाट ओहायो राज्यका सिनेटर भान्स सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वासपात्रका रूपमा उपराष्ट्रपति बनेका हुन्।

सन् १९८४ मा ओहायो राज्यको मिडलटाउन सहरमा जन्मिएका भान्सले २००३ मा मिडलटाउन हाईस्कुलबाट विद्यालय शिक्षा पूरा गरेका थिए। त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका भान्सले इराकमा समेत सेवा गरेका थिए। भान्सले ओहायो स्टेट युनिभर्सिटीबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक अध्ययन गरेका छन्। भान्स कुनै बेला भने ट्रम्पका कटु आलोचक थिए। तर ओहायोबाट सिनेट उम्मेदवार बनेपछि भने ट्रम्पप्रति उनको दृष्टिकोण फेरिएको देखिन्छ।

अमेरिकाका उपराष्ट्रपति माथिल्लो सदन सिनेटको अध्यक्ष हुन्छन्। उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन्। सिनेटले विधेयक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ।

मार्को रुबियो : विदेश
फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई ट्रम्पले विदेशमन्त्रीका लागि चयन गरेका छन्। यसको मतलब रुबियोले ट्रम्पको विदेश मामिलासम्बन्धी मुख्य सल्लाहकार तथा अमेरिकाको शीर्ष कूटनीतिज्ञको भूमिका निर्वाह गर्नेछन्। ५३ वर्षीय रुबियोले चीन र इरानप्रति कडा नीति लिएका छन्।

रुस–युक्रेन युद्ध वार्तामार्फत अन्त्य गर्नुपर्ने बताउँछन्। सन् २०१६ को रिपब्लिकन प्राइमरीमा उनले ट्रम्पको विरोध गरेका थिए। तर पछिल्लो चुनावमा भने रुबियोले ट्रम्पलाई समर्थन गर्दै चुनावी अभियानमा लागेका थिए। रुबियो हाल माथिल्लो सदन सिनेटको ‘इन्टेलिजेन्स’ कमिटीको उपाध्यक्ष र विदेश सम्बन्ध समितिमा छन्।

स्कट बेसेन्ट : अर्थ
डोनाल्ड ट्रम्पले अर्थमन्त्रीमा स्कट बेसेन्टलाई अघि सारेका छन्। अर्थमन्त्रीका रूपमा उनले कर नीति, सार्वजनिक ऋण, अन्तर्राष्ट्रिय वित्त र प्रतिबन्धहरूको व्यापक निरीक्षण तथा नियन्त्रण गर्नेछन्। ६२ वर्षीय बेसेन्टले लामो समयदेखि अमेरिका फर्स्ट एजेन्डाको कडा वकालत गर्दै आएका छन्।

बेसेन्टले आफ्ना नीतिहरूलाई समर्थन गर्ने, अमेरिकी प्रतिस्पर्धालाई अगाडि बढाउने र अनुचित व्यापार असन्तुलन रोक्ने ट्रम्पको भनाइ छ। चुनावी अभियानका क्रममा बेसेन्टले राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले वि–नियमन, कम लागतको ऊर्जा र न्यून करसहितको नयाँ स्वर्ण युगको सुरुवात गर्ने बताएका थिए।

image-(9)-1732685935.jpgपिट हेगसेथ : रक्षा
४४ वर्षीय हेगसेथ फक्स न्युज च्यानलको फक्स एन्ड फ्रेन्ड्स विकेन्ड कार्यक्रमका सह–होस्ट हुन् र सन् २०१४ देखि यसमा सक्रिय छन्। यस कार्यक्रममा नियमित रूपमा देखापर्ने ट्रम्पसँग उनको मित्रता त्यहींबाट विकास भएको बुझिन्छ। ट्रम्पले उनलाई रक्षा सचिव घोषणा गर्दा भनेका थिए, ‘म यो घोषणा गर्न पाउँदा सम्मानित छु कि मैले मेरो क्याबिनेटमा रक्षा सचिवका रूपमा पिट हेगसेथलाई मनोनीत गरेको छु, पिटले आफ्नो सम्पूर्ण जीवन सेना र देशका लागि योद्धाका रूपमा बिताएका छन्।’

अफगानिस्तान, इराक र ग्वान्टानामो खाडीमा सेवा गरेका सेनाका अनुभवी हेगसेथले रुस–युक्रेन तथा इजरायल–हमास युद्ध अन्त्य गर्नका लागि काम गर्ने ट्रम्पको विश्वास छ। फक्स न्युजका प्रस्तोता उनले विगतमा अमेरिकी नेसनल गार्डमा सेवा गरेका थिए। त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए।

पाम बोन्डी : महान्यायाधिवक्ता
ट्रम्पले फ्लोरिडा राज्यकी पूर्वमहान्यायाधिवक्ता पाम बोन्डीलाई महान्यायाधिवक्तामा चयन गरेका छन्। यसअघि उनले फ्लोरिडाकै रिपब्लिकन नेता तथा कंग्रेस सदस्य म्याट गेट्जलाई महान्यायाधिवक्तामा अघि सारेका थिए। तर यौन दुर्व्यवहार, घूस र अवैध लागूऔषध प्रयोगको आरोपका कारण विवादित भएपछि गेट्ज उक्त जिम्मेवारीबाट पछि हटेका थिए।

त्यसको केही घण्टापछि नै ट्रम्पले बोन्डीलाई चयन गरेका हुन्। आफ्नो दुई दशक लामो अनुभवका क्रममा बोन्डीले हिंसात्मक अपराधीहरूविरुद्ध निकै कठोर कदम चाल्दै फ्लोरिडाका सडकहरू सुरक्षित बनाएकी थिइन्। ट्रम्पको पहिलो कार्यकालमा बोन्डीले ओपिओइड तथा ड्रग दुर्व्यवहार आयोगको सदस्यका रूपमा काम गरेकी थिइन्। ट्रम्पको पहिलो महाभियोग परीक्षणका क्रममा पनि बोन्डी उनको टोलीमा समावेश थिइन्।

डग बर्गम : आन्तरिक (गृह)
ट्रम्पले उत्तरी डकोटा राज्यका गभर्नर डग बर्गमलाई आन्तरिक विभागको नेतृत्वका लागि छानेका छन्। सफ्टवेयर उद्यमी बर्गमले सन् २००१ मा आफ्नो सानो कम्पनी माइक्रोसफ्टलाई बेचेका थिए। बर्गम सन् २०२४ मा रिपब्लिकन दलको प्राइमरीमा छोटो समय प्रतिस्पर्धामा पनि थिए। तर पछि उनले अप्रत्याशित रूपमा ट्रम्पलाई समर्थन गरेका थिए। बर्गमले संघीय भूमि र प्राकृतिक स्रोतहरूको व्यवस्थापन र संरक्षणका लागि जिम्मेवार निकाय सञ्चालन गर्नेछन्।

ब्रुक रोलिन्स : कृषि
डोनाल्ड ट्रम्पले कृषिमन्त्रीमा अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युटकी सहसंस्थापक तथा अध्यक्ष ब्रुक रोलिन्सलाई मनोनयन गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनी अमेरिकी अन्वेषण कार्यालयको निर्देशक थिइन्। कृषि विकासमा स्नातक रोलिन्सले अमेरिकी किसानहरूलाई जोगाउने कदमको नेतृत्व लिने ट्रम्पको भनाइ छ।

रोलिन्सले कृषि अनुदान, संघीय पोषण कार्यक्रम, मासु निरीक्षण र देशको खेती, खाद्य र वन उद्योगका अन्य पक्षहरूको सञ्चालन तथा निरीक्षण गर्नेछिन्। उनले अमेरिका, क्यानडा र मेक्सिकोबीचको व्यापार सम्झौताका विषयमा पुन: वार्तामा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछिन्।

होवार्ड लुटनिक : वाणिज्य
ट्रम्पको संक्रमणकालीन टोलीका सहअध्यक्ष तथा वित्तीय संस्था क्यान्टोर फिट्जेराल्डका प्रमुख कार्यकारी होवार्ड लुटनिक वाणिज्यमन्त्रीका लागि चयन भएका छन्। लुटनिकले प्रशासनको ‘कर तथा व्यापार एजेन्डा’ को नेतृत्व गर्ने ट्रम्पको भनाइ छ। लुटनिक अर्थमन्त्रीको दौडमा रहेका भए पनि ट्रम्पले उनलाई वाणिज्य मन्त्रालयको जिम्मा दिएका हुन्। चुनावी अभियानका क्रममा लुटनिकले आयकर हटाउनेलगायतका ट्रम्पका सबैभन्दा विवादास्पद योजनाको समर्थन गरेका थिए।

लोरी चाभेज–डिरिमर : श्रम
ट्रम्पले अमेरिकी श्रम मन्त्रालयको नेतृत्वका लागि लोरी चाभेज–डिरिमरलाई चयन गरेका छन्। सिनेटबाट अनुमोदन भएसँगै डिरिमरले कामदारहरूको स्वास्थ्य र सुरक्षा, श्रमसम्बन्धी कानुनहरू र बेरोजगार तथा कामदारहरूको क्षतिपूर्ति व्यवस्थापनको कार्य गर्नेछिन्। यसअघि अमेरिकी संसद्को तल्लो सदनकी सदस्य रहेकी डिरिमर गत नोभेम्बरमा भएको चुनावमा भने पराजित भएकी थिइन्।

रोबर्ट अफ केनेडी : स्वास्थ्य तथा मानव सेवा
ट्रम्पले पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी (आरएफके) जुनियरलाई स्वास्थ्य र मानव सेवा मन्त्रालयको जिम्मा लगाउने भएका छन्। चिकित्सा क्षेत्रको कुनै योग्यता नभए पनि ७० वर्षीय केनेडीले खोप र औषधिको स्वीकृतिको निरीक्षण गर्नेलगायत अमेरिकी संघीय स्वास्थ्य एजेन्सीहरूको सञ्चालन तथा नियमनको जिम्मेवारी पाएका छन्। खोपप्रति आशंका व्यक्त गर्दै आएका केनेडीले स्वास्थ्यसम्बन्धी मिथ्या र भ्रमपूर्ण जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्। जसका कारण चिकित्सा विशेषज्ञहरूले उनलाई दिइएको जिम्मेवारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

image-(8)-1732685935.jpgस्कट टर्नर : आवास तथा सहरी विकास
ट्रम्पले आवास तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी भने स्कट टर्नरलाई दिएका छन्। पूर्वफुटबल खेलाडी टर्नर मोटिभेसनल स्पिकर पनि हुन्। ट्रम्पको चयनमा परेसँगै टर्नरले अमेरिकामा आवासहरूको आवश्यकता र व्यवस्थापनको जिम्मेवारी हेर्नेछन्। त्यसका साथै, उनले न्यून आय भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने गरी आवासको व्यवस्था गर्नुपर्नेछ। ट्रम्पको पहिलो कार्यकालमा टर्नर ह्वाइट हाउसको अवसर र पुनरुत्थान परिषद्को कार्यकारी निर्देशक थिए। उनीसँग टेक्सास राज्यको विधायिकामा काम गरेको अनुभव पनि छ।

सिन डफी : यातायात
पूर्वकंग्रेस सदस्य तथा फक्स बिजनेसका प्रस्तोता सिन डफी यातायात मन्त्रालयको नेतृत्वका लागि चयन भएका छन्। डफीले करिब ११० बिलियन डलर बजेट रहेको मन्त्रालयमा रहेर उड्डयन, मोटर वाहन, रेल, ट्रान्जिट तथा अन्य यातायात नीतिहरूको जिम्मेवारी सम्हाल्नेछन्। त्यसका साथै, उनले जहाज निर्माता बोइङ कम्पनीमा जारी समस्या तथा उडानसँग सम्बन्धित सुरक्षा समस्याहरू समाधानका लागि भूमिका निर्वाह गर्नुपर्नेछ।

क्रिस राइट : ऊर्जा
तेल र ग्यास उद्योगका कार्यकारी क्रिस राइटले ऊर्जा मन्त्रालयको नेतृत्व गर्ने भएका छन्। अब उनले अमेरिकी ऊर्जा उत्पादन अधिकतम बनाउने ट्रम्पको चुनावी वाचा पूरा गर्ने अपेक्षा गरिएको छ।

लिबर्टी एनर्जीका संस्थापक–सीईओ राइटले जलवायु अभियन्ताहरूको आलोचना गरेका छन्। त्यस्तै, उनले नवीकरणीय ऊर्जाका लागि डेमोक्रेटिकहरूको दबाबलाई सोभियत शैलीको साम्यवादसँग तुलना गरेका छन्। गत वर्ष आफ्नो ‘लिंकडइन’ प्रोफाइलमा उनले विश्वमा कुनै जलवायु संकट नभएको र हामी ऊर्जा संक्रमणको अवस्थामा पनि नरहेको दाबी गरेका थिए।

लिन्डा म्याकमोहन : शिक्षा
वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टकी सहसंस्थापक लिन्डा म्याकमोहनको भागमा शिक्षा मन्त्रालयको जिम्मेवारी परेको छ। उनी लामो समयदेखि ट्रम्पकी सहयोगी हुन्। म्याकमोहनले ट्रम्पको चुनावी अभियानका लागि लाखौं डलर सहयोग पनि गरेकी थिइन्। म्याकमोहनले ट्रम्पको अघिल्लो कार्यकालमा लघु व्यवसाय प्रशासनको नेतृत्व गरेकी थिइन्। अब उनले ट्रम्पको वाचाअनुसार शिक्षाको अधिकार राज्यस्तरमा फिर्ता गर्ने कार्यको नेतृत्व गर्ने ठानिएको छ।

डग कोलिन्स : भेटेरान्स मामिला
जर्जियाका पूर्वसांसद डग कोलिन्सलाई भेटेरान्स अफेयर्सको नेतृत्वमा चयन गरिएको छ। सन् २०१३ देखि २०२१ सम्म कंग्रेसका सदस्य रहेका कोलिन्स ट्रम्पका बफादार पात्र हुन्। महाभियोगको सुनुवाइका क्रममा उनी ट्रम्मका वकिल थिए। इराक युद्धको समेत अनुभव सँगालेका कोलिन्सले आफ्नो गृहराज्य जर्जियाबाट सिनेट सदस्य बन्नका लागि तल्लो सदन छाडेका थिए।

किस्टी नोएम : होमल्यान्ड सुरक्षा
ट्रम्पले होमल्यान्ड सुरक्षाको जिम्मेवारी पाएकी क्रिस्टी नोएम साउथ डाकोटाकी गभर्नर हुन्। रुढिवादी नेतृको परिचय बनाएकी नोएमले अमेरिकी सिमाना, साइबर–धम्की, आतंकवाद, प्राकृतिक प्रकोपलगायत अमेरिकाको समग्र सुरक्षा व्यवस्थापनको प्रमुख भूमिका निर्वाह गर्नेछिन्। ६२ बिलियन डलर बजेट रहेको मन्त्रालयले हजारौं मानिसहरूलाई रोजगार दिएको छ। यसअन्तर्गत नोएमले भन्सार र सीमा सुरक्षादेखि संघीय आपत्कालीन व्यवस्थापनसम्मका विभिन्न एजेन्सी परिचालन गर्नेछ।

अन्य महत्त्वपूर्ण पदमा को–को?
मन्त्रिपरिषद्सँगै ट्रम्पले अन्य केही महत्त्वपूर्ण पदका लागि समेत नाम चयन गरिसकेका छन्। १५ मन्त्रालयबाहेक अमेरिकी राष्ट्रपतिले अन्य केही पदमा पनि क्याबिनेट स्तरीय नियुक्ति दिने गर्छन्। यस्ता पदमा एफबीआए निर्देशक र वातावरण संरक्षण एजेन्सी (ईपीए) प्रमुख पर्छन्।

सुजी वायल्स : चिफ अफ स्टाफ
आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वायल्सले ट्रम्प प्रशासनमा ‘चिफ अफ स्टाफ’ को भूमिका निर्वाह गर्दै छन्। राष्ट्रपति कार्यालयको ‘चिफ अफ स्टाफ’मा हुने वायल्स अमेरिकाकै पहिलो महिला हुन्।

वायल्स पछिल्लो तीन वर्षभन्दा लामो समयदेखि ट्रम्पको चिफ अफ स्टाफ थिइन्। वायल्सकै कारण ट्रम्पले रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा रोन डिसान्टिसलाई पछि पारेको ठानिन्छ। उनकै कारण ट्रम्पको राष्ट्रपतीय चुनावी अभियान पहिलेको भन्दा बढी व्यावसायिक भएको बताइन्छ।

चिफ अफ स्टाफका रूपमा वायल्सको मुख्य जिम्मेवारी ह्वाइटहाउसको व्यवस्थापन गर्नु हो। उनले ट्रम्प प्रशासनका प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका निर्वाह गर्नेछिन्। त्यसका साथै उनले राष्ट्रपतिलाई निर्णय प्रक्रिया र नीतिगत विषयमा सल्लाह दिने भूमिकामा रहनेछिन्।

क्यारोलाइन लेभिट : ह्वाइटहाउस प्रेस सचिव
ट्रम्पले ह्वाइटहाउसको प्रेस सचिवमा २७ वर्षीया क्यारोलाइन लेभिटलाई चयन गरेका छन्। योसँगै उनी अमेरिकी इतिहासकै कम उमेरकी ह्वाइटहाउसको प्रेस सचिव बन्ने निश्चित भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा ह्वाइटहाउसको सहायक प्रेस सचिव रहेकी क्यारोलाइनले यस पटकको राष्ट्रपतीय चुनावमा ट्रम्प अभियानको प्रेस सचिवको भूमिका निर्वाह गरेकी थिइन्।

ह्वाइटहाउसकी प्रेस सचिवले दैनिक रूपमा पत्रकारका लागि प्रेस ‘ब्रिफिङ’ गर्नुका साथै राष्ट्रपति र मन्त्रिपरिषद्को कामकाजबारे जानकारी दिनुपर्छ। त्यसका साथै प्रेस सचिवले राष्ट्रपतिको दैनिक कार्यतालिका, विदेश यात्रा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा राष्ट्रपतिको अडानबारे जानकारी दिनुपर्ने हुन्छ।

इलन मस्क र विवेक रामास्वामी : सरकारी दक्षता
ट्रम्पले विश्वकै धनी इलन मस्क र रिपब्लिकन नेता विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग को नेतृत्व दिएका छन्। मस्क र रामास्वामीले ह्वाइटहाउसलाई सल्लाह प्रदान गर्ने हिसाबले सरकार बाहिरबाट काम गर्ने ट्रम्पको भनाइ छ।

उनीहरूलाई संघीय एजेन्सीहरूको पुन:संरचना गर्ने, कर्मचारी संख्या घटाउने, उद्यमशीलता व्यवस्थापन गर्नेलगायतका जिम्मेवारी दिइएको छ। यसअघि राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका रामास्वामीले सरकारी खर्च घटाउने बताएका थिए। त्यस्तै, मस्कले वार्षिक सरकारी खर्चको करिब एक तिहाइ कटौती गर्न सक्ने बताउने गरेका छन्।

त्यस्तै, ट्रम्पले टम होमनलाई सीमा संरक्षक, ली जेल्डिनलाई वातावरण संरक्षण संस्था, जोन र्‍याटक्लिफलाई सीआईए, एलिस स्टेफानिकलाई राष्ट्रसंघीय राजदूत, तुल्सी गबार्डलाई राष्ट्रिय गुप्तचर, माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र स्टिभ विट्कफलाई मध्यपूर्वका लागि विशेष दूतमा चयन गरेका छन्।

ट्रम्पले अघि सारेका मन्त्री तथा अन्य वरिष्ठ अधिकारीहरू हेर्दा उनले आफ्ना चुनावी एजेन्डालाई पहिलो दिनदेखि नै प्राथमिकता दिने देखिन्छ। खासगरी उनले अर्थतन्त्र, आप्रवासन र विदेश नीतिलाई नै केन्द्रमा राख्ने प्रस्टै छ। ट्रम्पले राष्ट्रपति पद सम्हालेको पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामग्रीमा थप कर लगाउने बताएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:२४
Weather Update