News Griha :: न्यूजगृह
गैरकानुनी रूपमा नेपाल प्रवेश गराउने एक भारतीयसहित दुई चिनियाँ पक्राउ

कपिलवस्तु — गैरकानुनी रूपमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका एक भारतीयसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

शुद्धोधन गाउँपालिका-५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो।

भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षे अरबाज शेषले मोटरसाइकलमा उनीहरु ल्याउँदै गर्दा चिनियाँसहित उनी पक्राउ परेका हुन्।

लिगुईएन्जुईसँग मात्र चिनियाँ पासपोर्ट भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए। लिगुईएन्जुईका साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाईल र १४ हजार ७५० भारतीय रुपैयाँ बरामद गरिएको छ।

गैरकानुनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:४५
Weather Update