News Griha :: न्यूजगृह
अध्यक्ष ओलीको मानहानी गरेको भन्दै एमालेले गर्‍यो लुम्बिनी सांसदलाई निलम्बन

काठमाडौं — नेकपा एमालेको बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।

सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानी गरेको आरोप लगाइएको छ। यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जबाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताए।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो। स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु,’ गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १७:३७
Weather Update