News Griha :: न्यूजगृह
हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरुद्ध मुद्दा
निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाही

काठमाडौं — हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। आइतबार सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

निलम्बित इन्स्पेक्टर शाही हाल फरार छिन्। उनीसँगै अर्का प्रतिवादी इटहरीका २९ वर्षीय दर्शन पोखरेल पनि फरार छन्। अरू सुस्मा विश्वकर्मा, ताज मूल भन्ने तजम्मुल ईसलाम, भीमादेवी थापा र महेन्द्र हमाल पक्राउ परेका छन्।

उनीहरूले मिलेमतो गरी सङ्खुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट ३० लाख रकम असुल गरेको आरोप छ। जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएर उनीहरूले इन्द्रकुमारबाट सुरुमा ६० लाख रकम माग गरेका थिए। उनीहरूले इन्द्रकुमारलाई प्रहरी प्रभाग भैँसेपाटीमा पुर्‍याएर इन्स्पेक्टर शाहीकै अगाडि उक्त रकम माग गरेको खुलेको हो।

बार्गेनिङ गरेर इन्द्रकुमारले सुरुमा २० लाख रकम भीमादेवीको खातामा पठाएका थिए। १० लाखको चेक काटेर दिएको खुलेको हो। अनुसन्धानकै क्रममा प्रहरी उपरीक्षक कमल थापाको नाम पनि जोडिएको थियो। तर उनीसँग भने बयान कागज मात्रै गरेको छ। उनले बयानमा आफ्नो संलग्नता नभएको भन्दै इन्कारी बयान दिएका छन्।

उनको र प्रतिवादी ताजको चिनजान भएको र बयानमा पनि ताजले एसपी थापासँग ह्वाट्स एपमा कुराकानी गरेको भन्ने बयानमा बताएका छन्। उनैले प्रहरी प्रभाग भैँसेपाटीमा आफ्नो मान्छे भएको भन्दै पठाएको बयानमा देखिन्छ।

एसपी थापाले भने ताजलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा हुँदा चिनेको बताएका छन्। उनी राष्ट्रिय अनुसन्धान कार्यालयको सूचक रहेकाले चिनेको बताएका हुन्। तर आफूले उनीहरूलाई भैँसेपाटी जाऊ भनेर भनेको विषय थाहा नपाएको उनले बताए।

‘प्रश्नावलीमा उल्लेखित सुस्मा विक र इन्द्रकुमार राईकै समस्याको विषयमा भैँसेपाटीमा जाऊ भनी भनेको मलाई यकिन छैन तर महिला बालबालिकासम्बन्धी समस्या आउँदा सम्बन्धित जिल्ला/इलाकाहरू र काठमाडौंमा भए प्रहरी वृत्त कालिमाटी वा ललितपुरमा जानु भन्ने सल्लाह म सबैलाई दिने गर्छु। त्यस्तै विषयगत ब्युरोसँग सम्बन्धित तत् ब्युरोमा र जघन्य अपराध र वित्तीय अपराध सीआईबीमा जानको लागि सुझाव दिने गर्छु,’ एसपी थापाले बयानमा भनेका छन्।

आपराधिक लाभको अनुसन्धान पहिले जिल्ला प्रहरी परिसर ललितपुरले सुरु गरेको थियो। तर पछि प्रहरीले थप अनुसन्धानका लागि कात्तिक २१ गते सीआईबीमा पत्राचार गरेको थियो। तर सीआईबीले पनि शाहीलाई पक्राउ नै नगरी र एसपी थापासँग बयान कागज मात्रै गराएर प्रतिवेदन बुझाएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १८:०९
Weather Update