काठमाडौं— मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ। गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मतदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ।
संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ। २०७९ वैशाख ३० मा भएको स्थानीय चुनावको विश्लेषणको आधारमा ५४ वटा मतदानस्थललाई अति संवेदनशील, ४७ मतदानस्थललाई संवेदनशील र ६२ वटालाई सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको छ। सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ।
डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाडमा उपप्रमुखको निर्वाचन हुँदैछ। मतदान स्थलमा केन्द्र थप भएमा ५ जना प्रहरी थप परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए।
कीर्तिपुर नगरपालिकामा मेयर, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा उपाध्यक्षको निर्वाचन हुँदैछ।
निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ। सुरक्षा घेराको पहिलो तहमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेना रहन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाको लागि आवश्यकता अनुसार सेना परिचालन गर्न सरकारलाई अनुमति दिएका छन्।
उपनिर्वाचनको सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन्। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक सञ्जय सिंह थापा र सशस्त्र प्रहरी बलले एसएसपी दिग्विजय सुवेदीको नेतृत्वमा निर्वाचन सेल गठन गरेका हुन्।
स्थानीय तह उपनिर्वाचनमा २ लाख ३५ हजार ४९५ मतदाता मतदान प्रक्रियामा सहभागी हुँदैछन्।