नवलपुर — पूर्वी नवलपरासीको देवचुली नगरपालिका—२ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी ग्रुप उद्योग ग्रामको मूल गेटमा स्थानीयले तालाबन्दी गरेका छन्।
उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्ता गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मूल गेटमा नै तालाबन्दी गरेका हुन्।
विगत ५ दिनदेखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग परिसरमा तालाबन्दी गर्न बाध्य भएको सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताए।
वर्षौदेखि प्रदूषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पूरा नभए थप सङ्घर्षका कार्यक्रम गर्ने स्थानीयले चेतावनी दिएका छन्।
मूल गेटमा प्रदर्शन गर्दै स्थानीयले कालो खरानी उडाउन बन्द गर, जल प्रदूषण बन्द गर, स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर, जनताको स्वास्थ्य माथि खेलबाड गर्न बन्द गर जस्ता नारा लगाएका थिए।
सङ्घर्ष समितिले विभिन्न ८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको छ।