News Griha :: न्यूजगृह
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सोमबार धनुषाको जनकपुरधाम विमानस्थलमा स्वागत गरिँदै ।

जनकपुर — नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन्। उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्‍याएका छन्। 

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए।

त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए। ‘संघीय सरकारमा कुनै खटपट छैन। यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने, ‘मधेस प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन। अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन। प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन्।

यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ। तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मुलुकको आर्थिक अवस्था हेरेर चीनबाट अनुदान मात्रै लिने सवालमा सहमत भए पनि बीआरआई कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने पक्षमा छन्। कांग्रेसका नेताहरूबाट भने बेग्लाबेग्लै राय आइरहेको छ।

कांग्रेसका कतिपय नेताले देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौतामा हस्ताक्षर गर्दा फरक नपर्ने मत राखिरहेका छन् भने कतिपयले भूराजनीतिक अवस्थिति हेरेर अहिले यसमा प्रवेश नै गर्न नहुने तर्क गरिरहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:२६
Weather Update