News Griha :: न्यूजगृह
विद्यार्थी कुट्ने शिक्षक नियन्त्रणमा

बाग्लुङ— कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१७ वैशाख आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बाग्लुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ वैशाखको साँझ प्रहरीमा निवेदन दिएका थिए । पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवैपक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए । 

कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । १६ वैशाख शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप थियो ।

यस विषयमा मंगलबार दिउँसो बाग्लुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो ।

शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च बेहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताए । बालकलाई १८ वैशाखमा बाग्लुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २१:००
Weather Update