News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

केन्द्रीय साइबर ब्युरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो। मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। सो कागजात भुवन भुसालले अपलोड गरेका थिए। कम्बोडियामा बस्ने ईश्वर पोखरेल सफलसँग प्रसाईँले भिडिओ कुराकानी गर्दै सो कागजात देखाएका थिए।

प्रसाईँले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:०२
Weather Update