News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं — सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो। प्रसाईंको हकमा छोरा निराजनले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए। 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश गरेको छ। लिखित आदेश प्राप्त नभएकाले कति दिनभित्र उपस्थित गराउने बारे भन्न नसकिने उनले बताए। 

प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्‍याइएको छ। उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ। अदालतले बहसपछि म्यादको बारे निर्णय लिनेछ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको फेक भिडिओ देखाउँदै कम्बोडियाको टेलिकममा लगानी गरेको भनी प्रचार गरेपछि विद्युतीय कारोबारमा अनुसन्धानका लागि पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण, किर्ते, बैङ्किङ कसुरसहितका अभियोग लाग्न सक्ने देखिएको छ। प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको थियो। 

जिल्ला अदालतको अनुमतिले अनुसन्धानका लागि थुनामा राखेपछि उनका परिवार सर्वोच्च पुगेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:४७
Weather Update