पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।
आज पनि प्रहरीले म्याद थप माग्नेछ । काठमाडौं र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायब महानिरीक्षक (पूर्व डीआईजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौंमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो । यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौं लगिने भएको हो ।
एउटैखाले प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा ल्याइएकाे छ । यसअघि रूपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रूपन्देही लगेर जोशी र लामिछानेसँगै बयान लिइएको थियो ।