News Griha :: न्यूजगृह
आजदेखि धरहरा सशुल्क, फोटो खिच्न पनि शुल्क तिर्नुपर्ने

काठमाडौं — धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।

त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडिओ छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०७:४८
Weather Update