
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
बुधबार काठमाडौंमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालको भन्दा राम्रो नतिजा देखिने बताएका हुन् ।
प्रधानमन्त्रीले भने,‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न बिमति र असन्तुष्टिहरू थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो । तर, निकै मेहेनत गरियो, परिणाम पनि राम्रो आयो ।’
उनले थप भने,‘संघीयताको सफल अभ्यास गरियो । स्थानीय तहदेखि केन्द्रसम्मका चुनावहरू भए । आन्दोलनरत दलहरू पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो । लोडसेडिङको अन्त्य भयो । ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।’
‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्रीले भने ।













