काठमाडौं — भारतीय जनता पार्टीका नेता डा विजय जोलीले नेपालले जानाजानी सीमा विवाद उत्पन्न गरेको गुनासो गरेका छन्। शनिबार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल-भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको गुनासो गरे।
उनले भने, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन।’
‘सीमालाई लिएर चीन र भारतको बीचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ,’ उनले थपे।
उनले यो विवादलाई संवादमार्फत समाधान गर्न सकिने समेत बताए। तर त्यसका लागि प्रयास नभएको उनले बताए। उनले भने, ‘एउटा परिवारमा मतभेद हुन्छ तर त्यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ त्यसका लागि सुझबुझको आवश्यकता छ।’
नेपालमा नाकाबन्दी हुँदा समेत नेपालको नेतृत्वले यूएनमा गएर भारतविरुद्ध उजुरी गरेको गुनासो गरे। जोलीले जुन काम भारतले गरेकै थिएन त्यसको गुनासो यूएनसम्म पुर्याउनुको अर्थ नभएको बताए।
नेपाल र भारत बीचको सम्बन्ध बेटी रोटीको सम्बन्ध भन्दा माथि रहेको बताउँदै उनले विश्वमै यो सम्बन्ध अद्भूत रहेको बताए। नेपाल र भारतमा मात्र होइन विश्वका जुनसुकै देशमा यी दुई देशका मान्छे बसेका र त्यहाँ उनीहरूको बीचमा राम्रो सम्बन्ध रहेको भन्दै जोलीले प्रशंसा गरे।
सांस्कृतिक एकता समेत बलियो राख्न नेपाल–भारतबीचको सम्बन्ध सशक्त रहनुपर्ने उल्लेख गर्दै उनले दुवै बराबरी रहेको बताए। नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको समेत उनले बताए। जोलीले नेपालमा धर्म परिवर्तन विरुद्धको कानुन भए पनि धर्म परिवर्तनको गतिविधि चलिरहनु चिन्ताको विषय भएको बताए।
‘नेपाल धर्मनिरपेक्ष राज्य होस् या हिन्दु राज्य त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको हो, यसमा कसैको हस्तक्षेप हुनुहुँदैन,’ उनले भने, ‘त्यसैले धर्म परिवर्तनको कार्यलाई रोक्नुपर्छ।’ भाजपाका नेता जोली केही दिनदेखि नेपालमा छन्। उनी विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन्।