News Griha :: न्यूजगृह
पूर्वडीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

काठमाडौं — काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्वडीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ।

मंसिर ४ मा उनलाई काठमाडौंमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन्।

उनीसँगको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए। प्रहरीले उनलाई शुक्रबार नै पोखरा पठाउने भएको छ।

उनलाई अहिले पोखरा पठाउन लागिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिए। जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ।  प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए। स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।

पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन्। उनी विरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जोशीको नाममा स्वर्णलक्ष्मीबाट १ करोड ३० लाख ऋण निकाशा भएको  भेटिएको छ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘सो ऋण फिर्ता भएको पनि देखिन्छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:२१
समसामयिक
Weather Update