झापा — उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छिन् माटाको भाडामा भक्का पकाउन। यतिबेला उनको दैनिकी नै बनेको छ यो काम।
मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० वर्षीया राजवंशी भक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा बिहान ४:३० बजे नै पुग्छिन्। पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उनले पकाएको भक्का खानेका लागि भीड नै लाग्छ।
पकाएको भक्का ग्राहकलाई बेच्न उनका श्रीमान भद्रु राजवंशीले सहयोग गर्छन्। गोलभेडामा लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भक्का प्रति गोटा १० रुपैयाँका दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ। उनले दैनिक जसो दुई हजारदेखि दुई हजार पाँच सयसम्मको भक्का बिक्री गर्दै आएका छन्।
भक्का खानका लागि बिहान मर्निङवाकमा हिँड्नेहरू, विद्यार्थी र गाडीका यात्रुहरू हुन्छन्। पहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भक्का बेच्नेहरु आधा दर्जन जति छन्। उनीहरूले मङ्सिरदेखि माग मसान्तसम्म भक्काको व्यापार गर्ने गर्छन्।
चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भक्का खानेको भीड लाग्न थालेको छ। धानको पिठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरूले यसैलाई बिहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन्।
प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भक्का पकाएर बिक्री गर्ने गर्दछन्। यसरी पकाएको भक्का बच्चादेखि वृद्धवृद्धाको बिहानको खाजा हुने गरेको छ।
पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भक्का सुरुमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे। तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरूले समेत भक्का बनाउन थालेका छन्। यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक वर्ष पुस २९ गते झापामा विगत आठ वर्षदेखि भक्का दिवस मनाउन थालिएको छ।
भक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं. ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन्। राजवंशी समुदायको मौलिक खानेकुरा भक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन्।