धनगढी — गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्।
उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरे। धनगढीमा बिहीबार पत्रकारसँग गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।
उनले भने, 'दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन।'
उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए। उनले भने, 'एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ।'
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाडि जानू भयो भन्ने विषय सामान्य रहेको उल्लेख गरे। उनले भने, 'प्रधानमन्त्रीको चिन भ्रमणको मिति तय भइसकेको छ, चिन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।'