News Griha :: न्यूजगृह
लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने

लुमिबनी— २५६७औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

बुधबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी शक्रबार २२ वैशाखमा विभिन्न कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउने बताएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो । 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए । उनले २१ वैशाखमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुने तथा बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने बताए । 

शाक्यले लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता गरिने पनि बताए । ‘अक्टोबर, नोभेम्बरमा हामी बौद्ध सम्मेलन गर्नेछौँ । त्यो समयमा हामी साहित्य पुरस्कार पनि वितरण गर्ने भनेका छौँ । लुम्बिनीको प्रमोसनका लागि टिकटक प्रतियोगिता गर्दैछौँ,’ उनले भने । 

उनले २२ वैशाखमा पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएका पनि बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:१८
Weather Update