रौतहट — प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका-१ मा स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाल पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका-१ स्थित राईस मिलको पूर्वदक्षिण कुनाको बाटोमा शङ्कास्पद गतिविधि देखेर उनलाई जाँच गर्दा रकम बरामद गरेको हो।
जाँचका क्रममा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनको साथबाट एकथान मोबाइल पनि बरामद गरिएको छ।
रकमको स्रोतबारे आवश्यक कागजात माग्दा प्रस्तुत गर्न नसकेपछि जयसवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।
रायका अनुसार, स्रोत नखुलेको रकमसहित पक्राउ परेका जयसवालमाथि गैरकानुनी लेनदेन वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का छ।