काठमाडौं — आफूलाई अन्डरवर्ल्ड नेटवर्कको 'अन्डरकभर एजेन्ट' बताएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा आशिष दाहाल छन्।
प्रहरीका अनुसार उनी एमबीबीएस डाक्टर हुन्। प्रहरीका अनुसार, सुरुमा उनले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्थे।
मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट ‘कन्ट्रयाक्ट किल्लर’ भाडामा लगाएर ज्यान मार्ने बताउँथे। उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको प्रहरी बताउँछ।
प्रहरीले उनलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो। पछिल्लो समय उनी ललितपुरको ग्वार्कोमा बस्दै आएका थिए।
थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।