News Griha :: न्यूजगृह
अन्ततः सर्ने भयो आयल निगमको सिनामंगल डिपो

काठमाडौं — नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ। मन्त्रिपरिषद्ले २०८१ साउनमा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ।

निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको हो। जुन स्थान यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंकको खर्चमा विदेशी परामर्शदाताबाट अध्ययन गराई उपयुक्त भनी तोकिएको स्थान हो।

उनका अनुसार आगामी तीन वर्षभित्र डिपो सारिसक्ने योजना छ। यसअघि डिपो सार्न भारतीय सहयोग लिनेबारे छलफल चलिरहेको थियो । तर, स्वदेशी लागत र प्रविधिमै संरचना बनाउन सकिने भन्दै यादवले तोकिएको समयभित्र निर्माण सकिने बताए।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन डिपो हवाई सुरक्षा मापदण्डका दृष्टिकोणले जोखिमयुक्त रहेको भन्दै सार्नुपर्न माग प्राधिकरणले लामो समयदेखि गरेको थियो । तर, निगमले अटेर गर्दै आएको थियो ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:०६
Weather Update