राष्ट्रपतिद्वारा २४ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले २४ वैशाखमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम २४ वैशाख २०८० आइतबारका दिन दिउँसो १ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । पाँच दिनअघि १५ वैशाखमा संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १७:४२













