News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा राखियो

काठमाडौं— विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो।

त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्युरोको जिम्मा लगाएको थियो। प्रसाईंलाई भने अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्युरोका डीआईजी नवीन्द अर्यालले बताए।

प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए। तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर अस्पतालका डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताएपछि प्रहरीले उनलाई वृत्त सिंहदरबारको हिरासतमा राखेको हो।

मंगलबार उनलाई हिरासतमा राख्ने अनुमति लिन अदालत पेश गर्न नभ्याइएकाले बुधबार पेस गर्ने साइबर ब्युरोका डीआईजी अर्यालले बताए। सोमबार प्रसाईंले युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको दाबी गरेका थिए। त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरू कीर्ते गरेर तयार पारिएको देखिएको छ। गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १९:३९
Weather Update