News Griha :: न्यूजगृह
एमाले कार्यकर्ता भन्छन्— मूल नेतृत्व बिग्रियो

काठमाडौं– एमाले कार्यकर्ताले मूल नेतृत्व निरङ्कुश हुँदा पार्टीलाई नोक्सान भएको बताएका छन् । पार्टी संगठन सुदृढीकरण गर्न एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरूट' अभियानका क्रममा तल्लो तहका कार्यकर्ताले मूल नेतृत्व सच्चिनुपर्ने सुझाव दिएका छन् । 

गत फागुनदेखि एमालेले सुरु गरेको पार्टी सुदृढीकरण अभियानको क्रममा केन्द्रका ठूला नेताबाटै पार्टी बिग्रिएको तल्लो तहको बुझाइ छ । तल्लो तहमै गएर पार्टीले सञ्चालन गरेको अभियानको प्रतिवेदन तयार हुँदैछ ।  

अभियानका क्रममा विभिन्न सुझावहरू आए पनि खासगरी मूल नेतृत्व सच्चिनुपर्ने विषय सबैजसो ठाउँमा उठेको  एमाले नेताहरू बताउँछन् । देशभरका ७५३ पालिका र ६७४३ वडामा एमालेले मिसन ग्रासरूट नाम दिएर अभियान सञ्चालन गरेको थियो । 

गत ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाको समीक्षा गर्दै एमालेले पार्टी सुदृढीकरण गर्न अभियान सञ्चालन गरेको हो । उक्त अभियानका क्रममा आएका सुझावका आधारमा पार्टीको भावी कार्यक्रम तय गर्ने एमालेको तयारी छ । जसअन्तर्गत एमालेले २८–३० वैशाखमा पार्टी केन्द्रीय कमिटीको बैठक झापामा डाकेको छ ।

'मिसन ग्रासरूट' नाम दिइएको उक्त अभियानमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा तीन सय ६० केन्द्रीय नेतालाई परिचालन गरिएको थियो । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल बनेको एमाले गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोस्रो स्थानमा झरेपछि र १० पुसको गठबन्धन भत्किएपछि एमालेले अभियान सञ्चालन गरेको थियो । निर्वाचनको ट्रमाबाट पार्टी पङ्तिलाई निकाल्न र पार्टीभित्र समान धारणा बनाउन एमालेले सञ्चालन गरेको अभियानमा पार्टीभित्र देखिएको वैचारिक, सैद्धान्तिक प्रश्नलाई मुख्य उद्देश्य बनाएको थियो । 

नेकपा विभाजनपछिको पार्टी सदस्यता शुद्धिकरणलाई अभियानले मुख्य जोड दिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । 

एमालेका प्रचार विभागका उपप्रमुख समेत रहेका नेता रिजालले भूगोलको कुन ठाउँमा, को व्यक्तिले कसरी काम गरिरहेको छ भन्ने कुरासमेत हेरेको बताए । नेता रिजालले भने, 'पार्टी एकता हुँदा एक खालको सदस्यताको विषय थियो । तर, जब पार्टी विभाजन भयो त्यसपछि पार्टीभित्र जथाभाबी पार्टी सदस्यता राखेको पाइयो । यो बीचमा एमाले-माओवादी दुवै पार्टीको महाधिवेशन सम्पन्न भए । महाधिवेशनमा पार्टी सदस्यता देखाएर महाधिवेशन पार्टी जाने भएकाले पनि जथाभाबी सदस्यहरूको नाम राखेको पाइयो । त्यसैले हामीले यो अभियानमा वास्तविक पार्टी सदस्यता कति हो त ? भनेर प्रत्यक्ष रूपमा उपस्थित भएर नै हेर्‍यौँ, तथ्य जाँच गर्‍यौँ ।  विदेशमा रहेका पार्टी सदस्यहरूलाई समेत हामीले फोन गरेर सोधेका छौँ ।'

पार्टी संगठन पुर्नताजगीको रूपमा सञ्चालन गरिएको अभियानबाट महत्त्वपूर्ण सुझाव आएको नेता रिजालको भनाइ छ । मूल रूपमा नेता र कार्यकर्ताको बीचको सम्बन्ध औपचारिकतामा मात्र सीमित भएको र नेता-पार्टी र जनताबीच निर्वाचनका बेलामा मात्र भेटघाट हुने गरेको कुरा तलबाट उठेको उनले बताए । 'अभियानका क्रममा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । खासगरी नेतृत्वको सन्दर्भमा । पार्टीका तल्ला कमिटी र ती कमिटीमा काम गर्ने कार्यकर्तासमक्ष नेतृत्वको सम्बन्धनका विषयमा महत्त्वपूर्ण कुरा उठेका छन् । नेताहरू माथिबाट आउने, कमिटीले कार्यक्रम गर्छ, भाषण गरे फर्किए यत्तिमा मात्र सीमित भयो भन्ने कुरा उठेको छ जुन महत्त्वपूर्ण छ', उनले भने, 'अर्को निर्वाचनका बेलामा मात्र पार्टीका उम्मेदवारहरू सक्रिय हुने । निर्वाचनमा घरदैलो गर्ने, गाडी, झन्डा बोकेर जाने । अन्य समयमा जनतासँग नेता र पार्टीको अट्याचमेन्ट भएन भन्ने कुरा उठेका छन् ।'

पार्टीको वैचारिक चेतना स्तरको विषय पनि सबैजसो ठाउँमा उठेको नेता रिजालले बताए । उनले भने, 'पार्टीभित्र वैचारिक चेतना स्तर उकास्न ध्यान दिनुपर्छ भन्ने कुरा उठेको छ । जस्तो नेकपा एमाले र माओवादीमा के फरक छ त ? एमाले र कांग्रेसमा के फरक छ त ? यो कुरा जनतालाई कसरी बुझाउने ? कसरी पृथक् रूपमा समाजमा पार्टीलाई स्थापित गर्ने ? एमालेका नेता-कार्यकर्ता र अन्य दलका कार्यकर्ता यसकारण फरक छ भन्ने कुरा बुझाउनुपर्छ भन्ने कुरा उठेको छ ।'

अभियानका क्रममा माथिका नेताहरूले पार्टी बिगारे भन्ने कुरा उठ्दै आएको छ । सँगै तलका कार्यकर्ताहरू पनि खराब हुँदा समस्या उत्पन्न भएको कुरा उठेको छ । पार्टी कमिटीमा बस्नु भनेको सांसद हुन, मेयर हुन, उपमेयर हुन, अध्यक्ष हुन, वडा अध्यक्ष हुन । केही पनि भएन भने उपभोक्ता समितिको अध्यक्ष/सदस्य बन्न भन्ने जुन गलत प्रवृत्तिको विकास भएको छ । यसले पार्टीलाई फाइदा गर्दैन भन्ने कुरा पनि अभियानका क्रममा उठेको नेताहरू बताउँछन् ।

पार्टी विभाजन, निर्वाचनमा गुमाएको जनमत, १० पुसमा बनेको गठबन्धनबाट सत्तामा पाइला टेके पनि सफल नभएपछि एमालेले तत्कालका लागि पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेको थियो ।

सोहीअनुसार एमालेले अहिले वडा, पालिका, जिल्ला हुँदै प्रदेश स्तरको समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले प्रदेशको समीक्षा पनि अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।

एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरे केन्द्रमा राजनीति अस्थिर हुँदा त्यसको असर स्थानीय सरकार र खासगरी विकास निर्माणमा परेको विषय अभियानका क्रममा उठेको बताए । उनले भने, 'पटकपटक सरकार फेरबदल हुँदा संघीय सरकार र स्थानीय सरकारबीचमा वा सरकार चल्दा पनि ठोस योजना र त्योअनुसारको कार्यान्वयनमा एकरूपता आउन सकेन । ती कुराले तलका विकास निर्माणका कामहरू प्रभावित भए । यो कुरालाई कसरी हल गर्ने ? भन्ने कुरा मुख्य रूपमा उठेको छ ।'

अर्को पार्टीभित्र सैद्धान्तिक, वैचारिक कामहरू भएन भन्ने विषय पनि कार्यकर्ताले उठाएको उनको भनाइ छ । 'पार्टीभित्र सैद्धान्तिक, वैचारिक कामहरू कम भयो । संगठनको अभियान भन्दा पनि नियमित काम अलि प्रभावकारी हुनुपर्‍यो । पार्टी र जनप्रतिनिधिहरूबीचको सम्बन्धनलाई सम्बन्धित पार्टीले कोर्डिनेशन जस्ता कुरामा नेतृत्व गरिदिनुपर्‍यो भन्ने कुरा उठेको छ', नेता गैरेले भने, 'संविधान बनाउँदाखेरि होस् वा पार्टीको तर्फबाट चुनावमा जाँदा जनताका माझ जे प्रतिबद्धता गरेका थियौँ ती अनुसारको भूमिका पार्टीको तर्फबाट पनि कम भयो । जनप्रतिनिधिको तहबाट पनि कम भयो भन्ने कुरा उठेको छ ।' 

अभियानका क्रममा सकारात्मक, नकारात्मक दुवै कुरा केलाएर नयाँ ढंगले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने खालको सुझाव आएको अर्का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा बताउँछन् । उनी भन्छन्, 'क्षेत्र, जिल्ला, ठाउँअनुसारका सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावका विषयमा अहिले पार्टीले प्रदेशअनुसार समीक्षा पनि गरिरहेको छ । आआफ्ना अनुभवअनुसारका सुझावहरू प्राप्त भएका छन् । समग्रमा पार्टीलाई कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने खालको कुरा नै आएको छ ।'

एमाले अध्यक्ष ओलीको प्रस्तावमा १० पुसमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः ६३ दिन मै पुरानै गठबन्धनतिर फर्किएपछि एमाले सरकारबाट बाहिरिएको थियो । 

नयाँ ठाउँमा नयाँ नेतालाई परिचालन गरेपछि थप समस्या पहिचान हुनसक्छ भनेर एमालेले यो अभियानमा केन्द्रीय नेतालाई आफ्नो भूगोल भन्दा फरक क्षेत्र/जिल्लामा परिचालन गरेको थियो । भौगोलिक र गैर भौगोलिक गरी नौवटा प्रदेश कमिटी, ८१ वटा जिल्ला कमिटी र २३ वटा जनवर्गीय संगठनको केन्द्रीय नेतृत्व पनि अभियानमा सहभागी भएका थिए । एमाले अध्यक्ष ओलीसहित ४२ जना स्थायी समिति सदस्यले सबै प्रदेश र जिल्लाको कामको संयोजन र अनुगमनको काम गरिरहेका छन् । देशभर खटिएका पार्टी उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको काममा सहजीकरण गर्नका लागि केन्द्रीय कार्यालयसमेत गठन गरिएको थियो । पार्टी महासचिव शंकर पोखरेलको संयोजकत्वमा गठित उक्त कार्यालयमा तीन उपमहासचिवहरू पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल र कार्यालय सचिव डा. भीष्म अधिकारी छन् ।

अभियानबाट प्राप्त सुझावहरू आगामी केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने नेता रिजालले बताए । जिल्ला तथा प्रदेश स्तरमा समीक्षा भइसकेपछि आगामी २८-३० वैशाखमा झापामा बस्ने केन्द्रीय कमिटीको बैठकमा समीक्षा गर्ने एमालेको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:४४
Weather Update