News Griha :: न्यूजगृह
घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अरू जिल्लामा कति ?
प्रतीकात्मक तस्बिर।

काठमाडौं— गत कात्तिकमा देशभर ९७ हजार १९६ घरजग्गाको कारोबार भएको छ। चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गएको असोजमा एक लाख ८४८ कारोबार भएको थियो।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार, कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पास भएका छन्। यस्तै, नामसारीतर्फ तीन हजार ३६२, हालसाबिक दुई हजार ११४, रोक्कातर्फ २५ हजार ३० छन्।

विभागका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापामा सबैभन्दा बढी चार हजार २६६ घरजग्गाको कारोबार भएको छ। मालपोत कार्यालय सुनसरीमा तीन हजार ११५, बेलबारीमा दुई हजार ८२१, धनुषामा दुई हजार १५८ वटा कारोबार भएका छन्।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्र कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ। सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण छ।

सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौं उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा एक हजार ६४९ घरजग्गाको कारोबार भएको छ। भक्तपुर मालपोतमा दुई हजार ३४८, डिल्लीबजार कार्यालयले ९३९ वटा कारोबार गरेको छ । चाबहिल मालपोतले एक हजार ४२३ वटा कारोबार गरेको छ।

विभागका अनुसार, ०८० कात्तिकमा ७७ हजार १८५ घरजग्गा र ०७९ कात्तिकमा ९७ हजार १९६ वटा कारोबार भएको थियो। विभागका अनुसार, घरजग्गाको कारोबारबाट यो वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबर राजस्व सङ्कलन गरिएको छ। घरजग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ।

गएको असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ।

मालपोत कार्यालय गोटीखेल, ललितपुरले चार लाख ६७ हजार ७२०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ र डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन्।

विभागका अनुसार, मालपोत कार्यालयले चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२, कलङ्कीले १७ करोड आठ लाख ४४ हजार ७५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन्। मुलुकभर १३३ मालपोत कार्यालय छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:४०
Weather Update