News Griha :: न्यूजगृह
उद्घाटनसँगै बन्द भयो कोरला अध्यागमन कार्यालय
कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखक। फाइल तस्बिर

म्याग्दी— आवश्यक तयारी बिनानै उद्‌घाटन गरिएको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय अर्को दिन देखिनै बन्द छ। कात्तिक १४ गते गृहमन्त्री रमेश लेखक नेतृत्वको जम्बो टोली पुगेर तामझामसहित कार्यालय उद्‌घाटन गरेका थिए। तर उद्घाटनको भोलिपल्टदेखि नै कार्यालय बन्द छ।

उद्घाटनको अर्कोदिन देखि तिहार बिदा परेको थियो। तिहारपछि अहिलेसम्म पनि कार्यालय खुलेको छैन। अध्यागमन कार्यालयमा खटाएका कर्मचारी चिसो बढेकोले अब बैशाखबाट कार्यालय खोल्ने भन्दै घर फर्केका छन्।

‘अहिले कोरलास्थित नेपाली भन्सार कार्यालय बन्द छ। मन्त्रीले उद्‌घाटन गरी हेलिकोप्टरमा फर्केपछि कर्मचारी पनि कार्यालयको ढोकामा चाबी लगाएर अब वैशाखमा फर्किन्छौँ भन्दै घर हिँडेका हुन्,’ उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले भने, ‘उता (चिनियाँ) भन्सार कहिल्यै बन्द हुँदैन, यता जाडो र गर्मीको निहुँमा आधा समय खुल्दैन।’

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित अध्यागमन कार्यालयमा सरकारले १ जना अध्यागमन अधिकृत, २ बरिष्ठ अध्यागमन सहायक, १ सहायक लेखापाल, २ सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसमेत ८ जनाको दरबन्दी कायम गरी कर्मचारी खटाएको थियो।

कोरलास्थित अध्यागमन कार्यालय मात्र होइन नाकादेखि १२ किलोमिटर तल नेचुङमा सशस्त्र प्रहरीको वीओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ। कोरला नाकास्थित नेपाली अध्यागमन र भन्सार कार्यालय बन्द गरिए पनि चिनियाँ अध्यागमन कार्यालय खुला रहेकोले नेपाली व्यापारी सीमापारि तिब्बत पुगेर दैनिक उपभोग्य र व्यापारिक सामान ल्याउने गरेका छन्।

कोरोला नाका व्यवसायिक रुपमा खुला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा आउजाउ गर्न पाइने व्यवस्था अनुसार सीमापारि गएर सामान ल्याउने गरेका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:२७
Weather Update