News Griha :: न्यूजगृह
सार्वजनिक बिदाको ढिलो निर्णयले सास्ती

काठमाडौं— सरकारको ढिलो बिदा निर्णयले निजामती कर्मचारीदेखि विद्यार्थी, शिक्षकसम्मले सास्ती पाएका छन्। सरकारले आज (सोमबार) पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिएको हो।

हिजो (आइतबार) नै ढुंगानाको निधन भए पनि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ९ बजेपछि मात्रै बिदा दिने निर्णय गर्‍यो। सरकारको यही ढिलो निर्णय कारण सरकारी कार्यालयका लागि हिँडेका कर्मचारीहरू बीचबाटोबाट फर्किनुपर्‍यो भने कोही कार्यालय पुगेपछि फर्किए।

त्यस्तै, सरकारी तथा निजी विद्यालयका पढ्न पुगिसकेका विद्यार्थीहरू फर्किए। कोही विद्यार्थीहरू बीच बाटोबाटै फर्किए। बिहान क्याम्पसहरूमा पढाइ भयो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिवमा आरबी कटवालका अनुसार ढिलो निर्णय भएका कारण निजी विद्यालयमा बिहान ९ बजेसम्म पढाइ भयो।

‘त्यसपछि बल्ल सरकारले सार्वजनिक बिदा दिएको भन्ने खबर सुनियो र १० बजेपछिको विद्यालयको पठनपाठन चाही बन्द गर्‍यौँ,’ उनले भने।

सरकारको यो ढिलाई निर्णयप्रति अहिले चौतर्फी आलोचना भएको छ। सरकारको उक्त निर्णयप्रति शिक्षाविद् डा मीनबहादुर शाही भन्छन्, ‘आज लाखौं विद्यार्थी बीच बाटो बाटै फर्किए, के दमननाथ प्रतिको सम्मान त्यही हो? अनुत्पादक काम।’ 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:००
Weather Update