News Griha :: न्यूजगृह
पूर्व सभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं— पूर्व सभामुख दमननाथ ढुंगानालाई प्रधानमन्त्री लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत राजनीतिक दलका नेता, कानून व्यवसायी, सरकारी निकायका उच्च पदाधिकारी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्।

८३ वर्षीय ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मंसीर २ गते निधन भएको थियो। कलेजोसँग सम्बन्धित समस्याका कारण उनी केही समयदेखि उपचाररत थिए।

ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। त्यस्तै, राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:३४
Weather Update