News Griha :: न्यूजगृह
सहकारी ठगी: कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
कुमार रम्तेल। फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी प्रहरी काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो।

परिसर स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा पुगेका आजरभोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ। रम्तेल गत भदौमा पक्राउ परेका थिए।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए।

रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ। रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो।

आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो। अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो। लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो। यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।

यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:०२
Weather Update