News Griha :: न्यूजगृह
सडकमा माटो खसाल्ने समिट होटेलका टिपर र ट्रकलाई पाँच हजार जरिवाना

काठमाडौं— ललितपुर महानगरपालिकाले सानेपास्थित समिट होटेल निर्माणको क्रममा टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा असर पुर्‍याएपछि मिनी ट्रकलाई कारबाही गरेको छ। महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ बमोजिम बा ५ ख ५४४३ नं. को मिनी ट्रकलाई सडकमा फोहोर गरेबापत  पाँच हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

महानगरपालिकाका अनुसार महानगरपालिकाले सहर सफाइको अभियान सञ्चालन गरिरहेको अवस्थामा समिट होटेल निर्माणको क्रममा टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा माटो खसालेर सहरलाई फोहर पारेको र खसालेको माटोका कारण सवारी साधन दुर्घटना हुने गरेको तथा पैदलयात्रुलाई हिँड्डुलमा समेत असर पुगेका कारण सडक र सहर फोहोर बनाउने यस्ता गतिविधिलाई महानगरले सूक्ष्म रुपमा निगरानी गरिरहेको छ।

महानगरपालिकाले यसअघि पनि यस्ता विषयमा सावधान गराउँदै पटकपटक सूचना प्रकाशित गरेको थियो। तर, अटेर गरेपछि जरिवाना गराएको महानगरपालिकाले जनाएको छ। ‘महानगरपालिकाबाट जारी भएको सूचनाको वेवास्ता गर्दै फेरि पनि महानगरपालिकाको नीति विपरीतको काम भए कानुन बमोजिम थप कारबाही गर्ने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ, ललितपुर महानगरपालिकाले यसअघि पनि सडकमा माटो खसाल्दै गुड्ने एक दर्जन भन्दा बढी टिपर ट्रकलाई जरिवाना गरिसकेको छ,’ आज जारी विज्ञप्तिमा उल्लेख छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:१२
Weather Update