रूपन्देहीमा कुटपिटबाट एकको मृत्यु
रुपन्देही— रूपन्देहीमा आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहनीको शुक्रबार राति कुटपिटबाट मृत्यु भएको हो।
उक्त रात साढे ८ बजे मदिरा सेवन गरी एक आपसमा झगडा भएपछि भतिजा २१ वर्षीय अजय सहनी, २२ वर्षीय सुरज कहार र २९ वर्षीय राजकुमार कुर्मीले राजुलाई मरणासन्न हुनेगरि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए।
गम्भीर घाइते भएका सहनीलाई भीम अस्पताल लगिएको थियो। तर धेरै रगत बगेकाले मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। कुटपिट गर्ने ३ मध्ये २ जनालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको र मुख्य आरोपी अजयलाई शनिबार बिहान पक्राउ गरेको एसपी सिंहले जानकारी दिए।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १६:२४