काठमाडौं— गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको थियो।
मन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए। उनले नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।
नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न पनि मन्त्री लेखकले आग्रह गरेको उनको सचिवालयले जनाएको छ। सीमा सुरक्षा बलले सीमामा गर्ने कामकारबाहीले दुई देशबीचको सम्वन्ध थप बलियो हुने उनको विश्वास थियो।
भेटवार्तामा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौं आएको हो। बैठक आज सम्पन्न हुनेछ।