News Griha :: न्यूजगृह

काठमाडौं— बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन्। स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन्। केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन्।

२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो। त्यतिबेला आवेदन दिने म्याद सात दिनको भए पनि पछि पाँच दिन थपिएको थियो। यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म छ।

म्याद अझै बाँकी रहेकाले आवेदकको संख्या बढ्न सक्ने अनुमान छ। मंसिर ४ गतेपछि आवेदककोे संक्षिप्त सूची सार्वजनिक गरिने छ। त्यसपछि उनीहरुको कार्ययोजनासमेतको मूल्यांकनको आधारमा समितिले नियुक्तिका लागि नाम सिफारिस गर्दछ । त्यो सिफारिस कानुन मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुग्दछ।

सिफारिस समिति गठन भएको मितिले दुई महिनाभित्र नाम सिफारिस गरिसक्नुपर्छ। ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गत कात्तिक दुई गते गठन भएकाले आगामी पुस २ गतेभित्र नाम सिफारिस गरिसक्नुपर्ने छ।

सिफारिस समितिमा मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, अमेरिकाका लागि पूर्वराजदूत अर्जुनबहादुर कार्की, आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला तामाङ र पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:४२
Weather Update