कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवार कृष्णमान डंगोल
काठमाडौं— नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा मंसिर १६ मा उपचुनाव तोकिएको छ। उम्मेदवारी दर्ता भने भोलि आइतबार हुनेछ।
डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन्। उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो ।
उपचुनावका लागि एमालेले डा सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्राडा शिवशरण महजृन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तोकेको छैन।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १७:५५