News Griha :: न्यूजगृह
रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं— रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३–००५ ख ९९६६ नम्बरको बस आज दिउँसो करिब पौने २ बजेतिर दुर्घटना हुँदा बस चालकसहित ९ जना घाइते भएका हुन्।

घाइते भएकाहरुमा बस चालक धादिङका ३१ वर्षीय खड्कबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय भिमबहादुर भुलन, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ का १७ वर्षीय गणेश रसाइली र दोलखाको भिमेश्वर नगरपालिका ७ बस्ने २६ वर्षीय प्रकाश मगराठी छन्।

अन्य घाइतेहरुमा जाजरकोटको नलगाड नगरपालिका ८ की ४५ वर्षीया भिमकुमारी चदारा, उनका १० वर्षीय छोरा मानबहादुर चदारा, जाजरकोट नलगाड नगरपालिका १२ का २५ वर्षीया सङ कुमारी विक र मोरङका २८ वर्षीय आका काफ्ले छन्।

घाइतेहरुको हात, खुटटा र टाउकोमा चोट लागेको छ। घायतेहरु सबै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ।

बस भेरी कोरिडोरबाट करिब ५० मिटर तल खसेको छ। घाइतेहरुलाई उपचारका लागि नगर अस्पताल आठबिसकोट पठाइएको छ। दुर्घटनास्थलमा प्रहरी निरीक्षक गणेश खनाल नेतृत्वमा ११ जनाको टोली उद्धारमा खटिएको थियो। दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटर पश्चिमतर्फ पर्दछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:२६
Weather Update