मकवानपुर— आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा हेटौंडा–१२ का राजनीतिक दलहरुले उम्मेदवार टुंग्याउन थालेका छन्।
हेटौंडा–१२ मा हुने वडाअध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार टुंग्याएका छन्।
हेटौंडाका अन्य साना दलले पनि उम्मेदावर छनौट गरिरहेको छ। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा भएसँगै यस वडामा उपनिर्वाचन हुन लागेको हो।
हेटौंडा–१२ मा नेपाली कांग्रेसले अर्जुन तिवारी, नेकपा एमालेले राजेश नगरकोटी र माओवादी केन्दले रविन प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। तिवारी र नगरकोटी अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार थिए। दुवैजना घलानसँग थोरै मतान्तरले पराजित भएका थिए।
नेकपा एसले बलराम बल, राप्रपाले प्रेम लामा तथा रास्वपाले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २ गते आइतबार उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
दलहरुले उम्मेदवारी टुंग्याएसँगै अहिले दलहरुले आफ्नो उम्मेदवारको सम्पर्क कार्यालय खोल्न थालिएको छ। गत निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रवीच नै प्रतिस्पर्धा भएका कारण यसपटक पनि त्यस्तै हुने सम्भावना रहेको छ।
निर्वाचन कार्यतालिकाअन्तर्गत निर्वाचन आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। स्थानीय राजनीतिक दललाई निर्वाचन आचारसंहिताको विषयमा समेत जानकारी गराइसेकेका निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार मंसिर २ गते आइतबार मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकाशन, मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ।