News Griha :: न्यूजगृह
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
फाइल तस्बिर।

म्याग्दी— अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन्।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको छ। गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो।

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन्।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।

अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो। तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो।

होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०९:४९
Weather Update