News Griha :: न्यूजगृह
नेपाली कांग्रेस फुट्दैछ !

काठमाडौं— नेपाली कांग्रेसभित्रको विवाद नमिल्दा अहिलेसम्म गठबन्धन सरकारले पूर्णता पाउन सकेको छैन । कांग्रेसभित्रको विवाद खासगरी संस्थापन समूह (देउवा गुट) र इतर समूह (शेखर–गगन गुट)बीच भागबण्डामा कुरा नमिल्दा वर्तमान सरकारले पूर्णता पाउन नसकेको हो । 

पार्टीभित्रको चर्को विवादलाई पन्छाउँदै संस्थापन इतरका नेता शेखर कोइराला भने आँखाको उपचार गर्ने भन्दै सिङ्गापुर उडेका छन् । सामान्य स्वास्थ्य अवस्थामै रहेका कोइराला एकाएक सिङ्गापुर हानिएपछि नेपाली राजनीतिक वृत्तमा अनेक अड्कलबाजी हुन थालेका छन् । स्रोत भन्छ, ‘शेखर सिङ्गापुरमा उच्चस्तरीय भेटघाट गर्दैछन् । र, त्यो भेटघाटले नेपाली राजनीतिमा नयाँ हलचल ल्याउँदैछ ।’ 

नेपाली कांग्रेसभित्र देउवा समूहले मनोमानी गरेको र इतर समूहका कसैलाई पनि ‘स्पेस’ नदिएको आरोप लाग्दै आएको छ । गठबन्धन सरकारमा पार्टीले आफ्नो तर्फबाट मन्त्रीहरूको नाम उपलब्ध गराउन नसक्नुमा पनि देउवा समूहले इतर समूहलाई माग गरिएअनुरूपको मन्त्री सङ्ख्या नदिनु हो । ‘पार्टीभित्र देउवा, देउवा पत्नी आरजु र उनी निकट व्यक्तिहरूको चर्को दबदबा छ । इतर समूहका कुनै पनि नेतालाई उनीहरूले राजनीतिक स्पेस दिन खोज्दैनन् । जसले गर्दा पार्टीभित्र लडाइँ दिनप्रतिदिन चर्किरहेको छ’, इतर समूहका एक कांग्रेस नेताले भने । 

स्रोतका अनुसार देउवा आफ्नो उत्तराधिकारीको रूपमा पत्नी आरजु राणालाई संसदीय दलको नेता बनाउन चाहन्छन् । इतर समूहका नेताहरूको सबैभन्दा ठूलो आपत्ति यसैमा छ । ‘यसै पनि पार्टीभित्र गुटको लडाइँमा आफूहरूलाई पेल्दै आएको र त्यसमाथि आफ्नी पत्नीलाई संसदीय दलको नेता बनाउनका लागि देउवाले मरिहत्ते गरिरहेको अवस्थामा इतर समूहले पार्टी नै टुक्राउनेसम्मको निर्णय लिन सक्छ,’ कांग्रेसका ती नेताले भने, ‘यदि यस्तो भयो भने त्यसको नेतृत्व गगन थापाले लिन सक्छन् ।’

कांग्रेसका नेता स्वर्णिम वाग्लेले उपनिर्वाचनभन्दा अगाडि देउवा र आरजुप्रति लक्षित आरोप लगाउँदै पार्टी छाडेका थिए । ‘देउवा–आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो,’ नेपाली कांग्रेस छाड्दै गर्दा स्वर्णिमले भनेका थिए । त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । र, सोही पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिएर चुनाव जिते । पार्टी छाड्दै गर्दा कांग्रेस महामन्त्रीद्वयलाई मोबाइल म्यासेज गर्दै स्वर्णिमले लेखेका थिए, ‘पार्टीको निर्णायक पदमा पुगेको दिन जोडिन सक्ने आशा भने कायमै छ । त्यतिञ्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’ 

उपनिर्वाचन पछि नेपाली कांग्रेसमा कार्यकर्ता तहसम्म पनि पार्टीप्रतिको वितृष्णा देखिन थालेको छ । त्यसयता धमाधम देशभरका कांग्रेस कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरिरहेका छन् । अघिल्लो हप्तामात्रै नेपाली कांग्रेस पर्वतका जिल्ला सभापति प्रतिस्पर्धीसहित ५० भन्दा बढी कांग्रेसका नेता र कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरे । पार्टी परित्याग गरी राजनीतिक हिसाबले स्वतन्त्र रहेको घोषणा गरेका उनीहरू सबै पार्टीभित्र संस्थापन इतर भनेर चिनिन्छन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सभापतिमा प्रतिस्पर्धी रहेका मिलन सुवेदीसहित ३१ जनाले पर्वतमा एकैसाथ पार्टी परित्याग गरे । सुवेदीले भनेका छन्, ‘विगतलाई समीक्षा गर्दै आजसम्म हामी क्रियाशील रहँदै आएको पार्टीबाट साधारण सदस्य पनि नरहने गरी स्वतन्त्र रहेको जानकारी गराउँदछौँ । निकट भविष्यमा नयाँ यात्रासहित यहाँहरूको सुखदुखमा जोडिने नै छौँ ।’ 

सुवेदीसहितको टोलीले एकसाथ पार्टी परित्याग गर्नुले पनि नेपाली कांग्रेस पार्टी फुट नजिक रहेको देखाउँछ । संस्थापन इतर समूहका नेताहरूसँगको सल्लाहमै पर्वतमा कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेको हुनसक्ने संस्थापन समूहका नेताहरूको बुझाइ छ । 

कांग्रेस परित्याग गरेर सर्लाहीबाट स्वतन्त्र उठेर चुनाव जितेका नेता डा. अमरेशकुमार सिंहले कांग्रेस पार्टीं टुक्रिने आफूले प्रष्ट संकेत पाएको बताउँछन् । ‘देउवा आरजुको पेलानबाट मुक्ति पाउन र आफ्नो भविष्य बनाउनका लागि गगन थापा, शेखर कोइराला, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, प्रकाश रसाईलीलगायत नेताहरूले चाँडै पार्टी फुटाउन सक्ने मैले देखेको छु,’ न्यूजगृहसँगको कुराकानीमा सिंहले भने, ‘कारण, देउवाले कुनैपनि हालतमा यी आफू इतरका नेताहरूलाई कांग्रेसको नेतृत्व जान दिँदैनन् ।’ अहिलेकै स्थितिमा इतर समूहका नेताले जति जोड बल लगाएपनि कांग्रेसमा सुधार ल्याउन नसक्ने देखेपछि बाध्य भएर उनीहरू पार्टी नै टुक्राउने स्थितिमा पुगेको हुनसक्ने उनले बताए ।

कांग्रेस नेता प्रकाश रसाईलीले भने राजनीतिक वृत्तमा चलेको हल्ला जसरी पार्टी फुट्ने कुरा गलत भएको बताए । ‘कांग्रेसभित्र केही असहमति पक्कै छन् । तर, बाहिर हल्ला चलेजस्तो पार्टी नै फुटाउने गरी कसैले सोचेको छैन । हामी जे गर्छौँ पार्टी भित्रै रहेर गर्छौँ,’ उनले भने । 

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ अनुसार कुनै पनि पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसद्मा ४० प्रतिशत पुर्‍याउनुपर्ने हुन्छ । अहिलेकै स्थितिमा कांग्रेसको संस्थापन इतर समूहले यो मत पुर्‍याउन भने हम्मे पर्छ ।

कुनैबेला अहिलेको शेरबहादुर देउवाले पनि पार्टीमा पेलिएको अनुभव गरेपछि कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए । पछि देउवाले पार्टी एकीकरण गरे र पार्टीलाई नै आफ्नो मुठ्ठीमा पारे । ‘ठ्याक्कै त्यही शैलीमा अहिलेका इतर समूहका नेताहरूले पार्टी छाडेर आफ्नो भविष्य बनाउने तयारी थालेका छन्,’ सिंहले न्यूजगृहसँगभने । 

शेखर कोइरालाको सिङ्गापुर भ्रमण, इतर समूहका नेता कार्यकर्ताको देशव्यापी कांग्रेस परित्यागको श्रृंखला, पार्टीभित्र बढ्दै गएको अन्तरद्वन्द्व लगायतका दृश्यहरूले कांग्रेस पार्टी विभाजनोन्मुख स्थितिमा रहेको देखाउँछ । ‘पहिलो चरणमा पार्टीका इतर समूहका नेताहरूले देउवालाई पार्टीको सभापति पदबाट राजीनामा दिन लगाउने गरी दबाब सिर्जना गर्ने तयारी गरेका छन् । तर, सभापतिबाट देउवाले राजीनामा देलान् भन्नेमा उनीहरूलाई पनि विश्वास छैन । यतिसम्म कि देउवाले आगामी महाधिवेशनमा विधान संसोधन गरेर भएपनि पुनः आफू नै सभापति बन्ने गरी तयारी थालेका छन्,’ संस्थापन इतर समूहका एक नेताले भने, ‘यदि अवस्था यस्तै रहिरह्यो भने २–४ महिनामै कांग्रेसमा विभाजन आउन सक्छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:४७
समसामयिक
Weather Update