News Griha :: न्यूजगृह
मध्य भोटेकोसीको सुरुङ परीक्षण अन्तिम चरणमा

काठमाडौं— सिन्धुपाल्चोकमा निर्माण भइरहेको चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ७ किमि सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ पानी भरेर पावरहाउसमा इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिएको छ।

२०८० पुसमा पानी पठाउँदा सुरुङ ‘वेट टेष्टिङ’को क्रममा पानी चुहिएकोमा झण्डै एक वर्षपछि पुनः परीक्षण गरिएको हो। भोटेकोसी गाउँपालिकाको चाकुबजारबाट बाह्रबिसे नगरपालिकाको जम्बुस्थित पावर हाउससम्मको सुरुङमा पानी भर्दा तत्काल कुनै पनि समस्या नदेखिएको आयोजनाका प्राविधिकले जानकारी दिए।

०६८ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको उक्त आयोजनाको निर्माण सुरु भएको झण्डै १२ वर्षपछि उत्पादनको तयारी गरिएको हो। 'हामी सङबाट पानी पेनस्टक पाइपमा पठाउन तयारी छौं,' परीक्षणको सुपरभिजन गरिरहेका एक प्राविधिकले भने, 'पावर हाउसमा जडान गरिएको इलेक्ट्रोमेकानिकलको परीक्षण गर्न सकिने अवस्था भएको छ।' 

यसअघि पनि इलेक्ट्रोमेकानिकलको प्रारम्भिक परीक्षण गरिसकेकाले बढी दुई सातामा सबै काम सकिने आयोजनाले जनाएको छ। चार वर्षमा पूरा गर्ने लक्ष्य राखेर सुरु गरेको आयोजनामा चिलिमे, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, स्थानीयको मुख्य लगानी छ।

आयोजनाले सर्वसाधारण र प्रभावितका लागि पनि शेयर जारी गरिसकेको छ। शेयरको किनबेच पनि सुरु भइसकेको छ। विशेषगरी भूकम्प, बाढीपहिरो, राजनीतिक दलहरूको अनुचित हस्तक्षेप, कोभिड र आयोजनाको आन्तरिक व्यवस्थापनमा देखिएको कमजोरीले निर्माणमा ढिलाई भएको हो।

सुरुमा १२ अर्ब २८ करोड अनुमान गरेकोमा समयावधि बढेकाले लागत बढ्दै गएर २० अर्ब नाघेको आयोजनाले जनाएको छ। भोटेकोसी कम्पनीले ५ अर्बभन्दा बढी ब्याजमात्र बुझाइसकेको छ। ब्याज रकमका कारण प्रतिमेगावाट उत्पादन लागत २० करोड नाग्ने अनुमान रहेको प्राविधिकहरूले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:१३
Weather Update